#Amrita_Nepal #गाउँमा_छन्_गीतहरू #Namaste_Studio
Produced by Binod Adhikari (info@namastestudio.us)
जीवन गाउँबाटै सुरु भयो । सिकाइ गाउँकै छाँगा छहराको लय हेरेर भयो । आमाले गाउने गीतमा गाउँको अनुहार हुन्थ्यो । बुवाले बोकेको भारीमा सभ्यताको पहाड हुन्थ्यो । हो यही गाउँलाई यो कवितामा राखिएको हो ।
त्यहीको गीत हो यो कविता ...
गॉउमा छन् गीतहरु
-महेश कार्की क्षितिज
सूक्ति बनाएर संस्कृतिलाई
गाउँभरि गीत रोपेर
गीतभरि गाउँ गाइरहेका छन्
गाउँका मान्छेहरू ।
श्रुतिपरम्पराको धारमा
हस्तान्तरित भइरहने
गाउँमै त छ
पुस्तापुस्ता जीवित रहने गीतैगीतको प्रज्ञा
विश्वासैविश्वासको दन्त्यकथा भन्ने हजुरामाको घर
दुहुनो गाईजस्तै सङ्गीत खसाइरहने छाँगाको विरासत ।
नानीहरू
गाउदैछन् तोतेबोलीमा शिशुगीत
“ऐया बाबा घैया पाक्यो चिउरी कुटाइदेऊ न
नेपालबाट बेउलो आयो बेउली लुकाइदेऊ न ।“
सिमलबोटे खेतको खलेगरामा
दाइँ गर्दै गरेका दयेरेहरू
गोरु घुमाउँदै गाउदैछन् दाइँगीत
“मियोको टुप्पोमा बसेछ कोइली
आजका दयेरेलाई घिउको चोइली ।“
मान्छेका ओठओठमा भएपछि गीतको पाठशाला
गाउँको माटोभरि फलेको हो गीतकै फल
गाउँको आकाशमा लागेको हो गीतकै घाम
तल, माथि गरेर चलेको हो गीताङ्गे हावा ।
भेटिइरहन्छ परिचय गाउँको
सम्झनैसम्झनाको अलिखित प्रतिबिम्बमा
ऐँचोपैँचोको अर्थशास्त्रीय परम्परामा ।
न त आउँछ
सम्बन्धमा ह्रासको नियम
न त घट्छ
साझेदारीको पर्म तिर्ने सिलसिला
न त हराउँछ
रत्यौलीमा आमाहरू बुवा बन्ने मौलिकता
न त सकिन्छ
मारुनीमा नरहरू नारी बन्ने लोकनाच ।
बारी खन्दै गरेका यी आमाहरू
फागको लयमा मस्त छन् कोही
कोही कोदालाको नचाइमा स्वतस्फुर्त
रोपिरहेका छन् श्रमगीतका मुरीमुरी लयहरू
कोही
लोग्नेले गरेको अपहेलनालाई
माइतीहरूले देखाएको बेवास्तालाई
आह्वान गर्दै देवीदेउताको
मागल र सगुनको भाकामा भन्दैछन्—
“सिमे र भुमे तेत्तीसकोटी देउता साथैमा
कुन र धर्म देउरालीदेवी बसेको माथैमा ।“
संस्कारलाई राखेर शिरमा
चढेर गीतैगीतको सगरमाथा
छातीभरि कुँदेर आफ्नै देश
गीतभरि उज्यालो गाइरहेका छन्
गाउँका मान्छेहरू ।